Categories Politics

नेरुडे मिर्मिरेमा कर्मचारी र व्यवस्थापनबीच उग्र टसल, कर्मचारी बर्खास्तीको तयारीमा व्यवस्थापन, सामना गर्ने रणनीतिमा कर्मचारी

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त कर्मचारी संगठनका महासचिव महमद मक्सुद अन्सारीले अब आफूहरुको आन्दोलन कुनै पनि हालतमा नरोकिने चेतावनी दिएका छन् । आफूहरुको आन्दोलन रोक्ने तयारीमा व्यवस्थापन पक्ष लागेको भन्दै उनले आन्दोलन नरोकिने चेतावनी दिएका हुन् ।

बरु विभिन्न बाहनामा आन्दोलन रोक्न खोजे आन्दोलनले झनै उग्र रुप लिने अन्सारीले बताएका छन् । 

‘हामी १२ गतेदेखि शान्तीपूर्ण आन्दोलनमा छौँ । १४ गते पेन डाउन भयो, १५ गते कालोपट्टी बाँधेर विरोध गर्छौं ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अन्सारीले भने, ‘१६ गतेदेखि देशभरका शाखा कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गर्छौँ ।’

यसो त कर्मचारी आन्दोलनमा उत्रिँदा पनि माग सम्बोधन गर्नुको साटो व्यवस्थापन पक्ष उल्टै कर्मचारीलाई कारवाही गर्नेतर्फ लागेको अन्सारीको आरोप छ । तर, कारवाही गरे पनि आन्दोलन नरोकिने अन्सारीले चेतावनी दिएका छन् । ‘हामीलाई कारवाही गर्ने तयारी हुँदैछ भन्ने सुनेका छौँ ।’, उनले भने, ‘कारवाही मात्र होइन, बर्खास्त नै गरे पनि आन्दोलन रोक्दैनौँ ।’

हाल कर्मचारीको सेवासुविधा, बढुवा तथा कर्मचारीमाथि भइरहेको विभेदपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने माग राख्दै असन्तुष्ट कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । 

उनीहरुले लामो समयदेखि बढुवा नभएका कर्मचारीलाई बढुवा गर्नुपर्ने, कामु पदमा भएका कर्मचारीलाई सोही पदमा बढुवा गर्नुपर्ने, कर्मचारी कल्याणकारी कोषलाई निरन्तरता दिनुपर्ने, करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने, कर्मचारीको आधार तलब ५ हजारका दरले वृद्धि गर्नुपर्ने, कार्यालय प्रमुखलाई समान रुपमा अख्तियारी दिनुपर्ने, कर्मचारीमाथि भइरहेको विभेदको अन्त्य गर्नुपर्ने र ज्यालादारीमा कार्यरत कर्मचारी र कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारी बिना सर्त करारमा नियुक्त गर्नुपर्ने र कनिष्ठ सहायक (ख) पद खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *