Categories Politics

‘मौद्रिक नीति छिटो ल्याएका छौँ, अब बैंकहरुलाई आगामी वर्षका कार्यक्रमहरु बनाउन सहज हुनेछ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले पर्याप्त विश्लेषण गरेर कार्यान्वयनमुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइको बताएका छन् । मौद्रिक नीति सार्वजनिकपछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिलेदेखि नै तयारी गरेर मौद्रिक नीति ल्याइएको बताए । उनका अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनीयता राखिएको हो । 

‘राष्ट्र बैंक ऐनले पनि आगामी वर्षको मौद्रिक नीति तर्जुमा गर्ने भनेको छ । यही महीनामै ल्याउनुपर्ने हो । कहिले यही महीनाको अन्त्यमा त कहिले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने गरिएको छ ।’, उनले भने, ‘विगतमा बजेट आउन ढिलो हुँदा मौद्रिक नीति आउन समय लाग्ने गरेको थियो । अहिले छिटो मौद्रिक नीति ल्याएपछि अबको यही महीनामै आवश्यकता अनुसार तयारी गर्न सहज हुनेछ । १/२ गते नै सर्कुलर गरेर मौद्रिक नीतिलाई कार्यान्वयनमा लैजानेछौँ । नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै कार्यान्वयनको गति बढ्नेछ ।’

नेपाल राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष सुरु हुनु अगाडि नै मौद्रिक नीति ल्याउन कोसिस गरिने बताए । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पुरा गर्न सहज हुने उनले विश्वास व्यक्त गरेका छन् ।

‘यो मौद्रिक नीतिको ठूलो स्टेक होल्डर बैंक वित्त संस्था हो । बैंक तथा वित्तीय संस्थाले आगामी वर्षमा गर्नुपर्ने कार्यक्रमहरु, योजनाहरु बजेटहरुलाई पनि यो मौद्रिक नीतिले दिशा निर्देश गरेअनुसार कार्यान्वयन गर्न सहज हुनेछ ।’, उनले भने, ‘अब आगामी आवको योजनाहरु बैंक तथा वित्तीय संस्थाहरुले मौद्रिक नीतिलाई आधार बनाएर बनाउन सक्नेछन् ।’

उनले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरुलाई मौद्रिक नीतिले समेटेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *